
धनगढी । नेकपा एमालेबाट निष्काशनमा परेका डा भीम बहादुर रावलले पार्टी निर्माणको आधार तयार गर्न मातृभूमि जागरण अभियान चलाइरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बसेर अभियान अन्तरगत भेटघाट गरिरहेका रावलले भविष्यमा पार्टी निर्माण गर्ने उद्देश्य लिएर नै अभियान चलाइरहेको बताएका हुन् ।
बिहीबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले देशमा व्याप्त विकृतिकाविरुद्ध सबैलाई संगठीत गरेर लैजाने सशक्त राजनीतिक दल निर्माण गर्न जागरण अभियान चलाइरहेको बताए ।
‘मैले धेरै पटक भनिसके, मातृभूमि जागरण अभियान यो देशको आजको बेतिथिका विरुद्धमा उभिन चाहने सबैलाई संगठीत गरेर सशक्त राजनीतिक दल निर्माण गर्ने हो,’ रावलले भने, ‘यो अभियान मानिसहरुलाई भेला गर्ने भाषण गर्दै समाप्त भयो त्यस्तो होइन । जहाँ–जहाँ गएका छौँ त्यहाँ संगठन निर्माण गर्दैछौँ ।’
अभियान सशक्त राजनीतिक संगठन निर्माणका लागि आधार तयार गर्न चलाइरहेको बताउँदै उनले राजनीतिक दलमा संगठीत व्यक्ति, बुुद्धिजीवी र विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुसँग कुराकानी भइरहेको उल्लेख गरे ।
केन्द्रबाट सोझै राजनीतिक दल गठन गरेर घोषणा गर्ने राम्रो कुुरा नभएकोले अहिले नै आफूलाई अभियानको नेता, अध्यक्ष हुँ नभनेर प्रस्तावका रुपमा मात्र अघि सारेको उनको भनाई थियो । रावलले जिल्लाहरुमा अभियानमा जोडिने व्यक्तिहरुलाई संगठीत गर्दैै लैजाने र केही जिल्लाको भ्रमणपछि देशभरी र प्रवासमा रहेकाहरुको विचार सुनेपछि मात्रै संगठीत केन्द्रीय स्वरुप दिने बताए ।
‘मातृभूमि जागरण अभियानको केन्द्रीय स्वरुप नै उचित समयमा एउटा सशक्त राजनीतिक दलको रुपम लिन्छ । यो अभियान मात्र होइन,’ रावलले भने, ‘अहिले यो पार्टी निर्माणको आधार र चेतना सिर्जना गर्ने अभियान हो ।’ राजनीतिक दलहरुले अहिले गरिरहेका कामप्रती असन्तुष्ट जनताको समर्थन आफूले पाउने दाबी गरेको बताउँदै रावलले अछामबाट उक्त कुराको पुष्टि भइसकेको जिकिर गरेका छन् ।
‘दलहरुले अहिले गरेको कामप्रती असन्तुष्टहरुको समर्थन प्राप्त गर्छु भनेको थिए । आरम्भमै अछाममा एमालेसँग सम्बद्ध १५ सय मानिसले त्यो पार्टी छाडिसकेका छन्,’ रावलले भने, ‘यो प्रक्रिया जारी नै छ । अरु जिल्लामा पनि यो प्रक्रिया अगाडि बढ्ने नै छ ।’ मातृभूमि जागरण अभियान अन्तरगत नै रावलले शनिबार धनगढीमा जागरण भेला आयोजना समेत गर्ने जानकारी दिएका छन् ।
फरक विषयमा बोल्दै रावलले अहिलेको सरकारले जनताप्रती गैर जिम्मेवार भएर काम गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई छलेर नेपालको संविधानमा उल्लेखित मौलिक हक विपरीतका कानुन अध्यादेशमार्फत ल्याएको उनको भनाई छ ।
सरकारको उक्त कदमले प्रधानमन्त्री ओलीमा भएको निरुकुंश, स्वच्छाचारी, तानाशाही चरित्र फेरी एकपटक छर्लङ्ग भएको रावलले बताए ।