जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा कैलाली जिल्ला सदरमुकाम धनगढीदेखि १०० किलोमिटर पूर्वमा पर्दछ। कृषि उत्पादनका लागि उर्वर भूमि भएको यो गाउँपालिकाको क्षेत्रफल ६५.५७ वर्ग किलोमिटर रहेको छ। थारु, क्षेत्री, ब्राह्मण र दलितहरूको बसोबास रहेको यस गाउँपालिकाको जनसंख्या ३७,१८७ रहेको छ। राजनीतिक परिवर्तनसँगै मुलुकमा भएको राज्य पुनर्संरचनाअनुसार साविकका जोशीपुर र बौनिया गाविसहरू समायोजन गरी जोशीपुर गाउँपालिका निर्माण गरिएको हो।
जोशीपुर गाउँपालिका धेरै सम्भावना बोकेको क्षेत्र हो। यहाँका समथर भूमिमा मौसमी तथा बेमौसमी तरकारी खेती, धान, गहुँ, मकै, तोरी, मसुरो लगायतका खाद्यान्न र नगद फसलहरूको उत्पादन हुने गर्दछन्। तर, विडम्बना, हरेक वर्षको बर्षा अवधिमा आउने बाढीका कारण यो गाउँपालिकाको उर्वर खेतीयोग्य भूमि नदीको बगरमा परिणत हुने क्रम पनि बढ्दो छ।
यो गाउँपालिका भएर बग्ने कादाँ र पथरैया नदीको कटान र डुवानका कारण नागरिकहरू निक्कै पीडित बन्दै आएका छन्। यसका साथै, धेरै परिवार विस्थापित हुने गर्दछन् र लाखौंको जनधनको क्षति समेत यो गाउँपालिकाका नागरिकहरूले व्यहोरेका छन्। उक्त समस्या समाधानका लागि प्रदेश र संघ सरकारले अहिलेसम्म कुनै चासो देखाएका छैनन्। आन्तरिक आय स्रोत अत्यन्त न्यून रहेको स्थानिय सरकारको प्रयासले मात्र यो समस्या समाधान गर्न सम्भव देखिँदैन।
वर्षायाममा आकाशमा बादल लाग्ने समयमै यहाँका सर्वसाधारणलाई घर छोडेर सुरक्षित स्थानको खोजी गर्नु पर्ने अवस्था बनिरहेको छ। तर जोशीपुर गाउँपालिकामा दोस्रो कार्यकालका लागि नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया निर्वाचित भएपछि भने नदी नियन्त्रणको लागि पहल भइरहेको छ। नदी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको अध्यक्ष चौधरी बताउँछन्। नदी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई धेरै पटक गुहार्दा पनि कुनै सहयोग नपाएको उनकाे गुनासो छ। तर पनि आफ्नै पहलमा नदी नियन्त्रणका लागि केही क्षेत्रमा तटबन्धको काम सम्पन्न भएको र अन्य क्षेत्रमा तटबन्धको लागि आवश्यक बजेटको जोहो गर्न लागिरहेको अध्यक्ष चौधरीको भनाइ छ।
नेपाली जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापनासँगै स्थानीय सरकारहरूले जनताका घाउमा मलम लगाउँदै आएका छन्। पछिल्लो समय मुलुकमा स्थापित संघ, प्रदेश र स्थानीय सरकारहरूको बीचमा सबैभन्दा जनताको भरोसाको केन्द्र स्थानीय सरकार बनेका छन्। जनतालाई घरदैलोबाट सहजै सेवा र सुविधा दिन सक्षम स्थानीय तहहरूको गठनसँगै जोशीपुर गाउँपालिकामा आएका जनप्रतिनिधिहरू एकपछि अर्को जनप्रिय काम गर्दै आएका छन्।
जोशीपुर गाउँपालिकाका जनप्रतिनिधिहरूले केही पहिलेका कामलाई निरन्तरता दिने र केही नयाँ कामको सुरुवात गरेका छन्। विगतमा सडक, बिजुली बत्ति, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा आदिका समस्या भोगिरहेका जोशीपुरबासी अहिले जनप्रतिनिधि आएपछि भने सबै क्षेत्रमा सहजता हुँदै गएको अनुभव गर्न थालेका छन्।
जनप्रतिनिधिहरू आएका पछिका कार्यहरूमा यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, कल्भर्ट, नदी नियन्त्रणका लागि तटबन्धन, तालतलैयाको संरक्षण, फोहरमैला व्यवस्थापन, स्वास्थ्य चौकी निर्माण, सामुदायिक भवन निर्माण, विद्यालय भवन निर्माण जस्ता कार्यहरूले गति पाएको स्थानीयहरू बताउँछन्।
यस्तै, गाउँपालिकाको चौतर्फी विकासका लागि जनप्रतिनिधिहरूले सबै तिर समन्वय र सहकार्य बढाउन आवश्यक छ। जोशीपुर क्षेत्रका सम्भावनाका क्षेत्र पहिचान गरी जनतालाई स्वरोजगार बनाउन, कृषिमा आत्मनिर्भर बनाउन र अन्य विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश तथा संघीय स्तरका जनप्रतिनिधिहरूसँग सहकार्य र घचघचाई राख्नु पर्ने आवश्यकता देखिन्छ।