बुधबार एमालेबाट निष्कासनमा परेको पूर्वउपाध्यक्ष भीम रावल नयाँ पार्टीको नेतृत्व गरेर राजनीतिलाई निरन्तरता दिने निष्कर्षमा पुगेका छन् ।
व्यापारी मीनबहादुर गुरुङले जग्गासहित पार्टी कार्यालय बनाइदिने विषयमा फरकमत राखेकै कारण रावललाई सचिवालय बैठकले संगठित सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको छ।
पार्टीबाट औपचारिक रुपमा निष्कासन परेपछि रावलले सहयोगीमार्फत नयाँ पार्टी दर्ता गर्ने सूचना सार्वजनिक गराएका छन् । उनका सहयोगी एकिन्द्र कुँवरले रावलले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर भावी राजनीतिक यात्राबारे जानकारी दिने बताए । उनले भने, ‘अब उहाँले २ र ३ दिनभित्रै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्नुहुन्छ ।’
एमालेको ढोका औपचारिक रुपमा बन्द हुनुअघि नै रावल भने भित्रभित्र नयाँ पार्टीको तयारीमा थिए। त्यसबारे पहिल्यै जानकार रहेका एमालेका एक नेताले देश सञ्चारसँग भने, ‘पार्टीबाट किनारामा परेपछि उहाँ नयाँ पार्टी बनाउने तयारीमा भित्रभित्रै लाग्नुभएको थियो। त्यसलाई रोक्नुपर्छ भन्ने हाम्रो मेरो धारणा थियो। एक जना व्यक्ति पार्टीबाट जाँदा त घाटा हुन्छ भने उहाँ त पार्टी नै बनाउन लाग्नू भएको पुरानो नेता हो। त्यसलाई रोक्नुपर्छ भनेका थियौँ।’
तीन वर्षअघि चितवनमा भएको पार्टीको १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि रावल एमालेको सक्रिय राजनीतिबाट टाढा थिए। औपचारिक रुपमा सल्लाहकार परिषदको सदस्यको रुपमा रावललाई थन्क्याउँदै अध्यक्ष ओलीले रावललाई किनारामा पारेका थिए।
राष्ट्रवादी छवि बनाएका रावल आफूलाई लागेका कुरा प्रष्टसँग भन्ने गर्छन्। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचकका रुपमा समेत चिनिएका रावलले भाटभटेनीका सञ्चालक गुरुङले पार्टीका लागि जग्गासहित भव्य कार्यालय बनाइदिने शिलान्यासको सदाझैँ विरोध गरे।
कीर्तिपुरमा बन्ने गरी गत असोज २५ गते भएको शिलान्यासको विरोध गरेका रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ओलीले प्रष्टीकरण सोधेका थिए। बुधबार पाण्डे र तिमिल्सिनालाई ६ महिना पार्टीबाट निलम्बनको कारबाही गरिएको छ भने रावललाई संगठित सदस्यबाट निष्कासन गरिएको छ।
पार्टीका केही नेताहरुले विरोध जनाउँदा जनाउँदै रावललाई एमालेको ढोका औपचारिक रुपमा बन्द गरेसँगै उनलाई नयाँ पार्टी खोल्ने ‘साइत’ जुरेको छ। रावलका निकट रहेका कुँवर भन्छन्, ‘पत्रकार सम्मेलनपछि उहाँसँग सहमत हुनेहरु सँगै अघि बढ्नेछन्।’
ओलीको कारबाहीलाई रावलले आफ्नो भावी राजनीतिक एजेण्डाका रुपमा समेत अघि सारिसकेका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जालबाट लिखित धारणा व्यक्त गरेका रावलले आफूमाथि गरिएको कारबाहीलाई ‘जनता, सुशासन, विधि, पद्धति, सदाचार’सँग जोडेर व्याख्या गरेका छन्। उनले आफू ‘देशभक्त इमान्दार’ भएकै कारणले भ्रष्ट, अनैतिक, फौज्दारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता विरोधीले कारबाही गरेकाले त्यसको विरोध गर्न एमाले पंक्तिलाई आह्वान गरेका छन्।
‘नेकपा एमाले० को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने के।पी। ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो, रावलले अगाडि भनेका छन्, ‘कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन । सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिवद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छ।’
ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका रावललाई महाधिवेशनपछि किनारामा पार्दै लगेपछि उनलाई एकीकृत समाजवादीमा ल्याउन धेरैपटक प्रयास भएको थियो ।
अध्यक्ष माधवकुमार नेपालले आफैँले र विभिन्न नेताहरुमार्फत रावलसँग कुरा अघि बढाए। तर रावल समाजवादीमा जाने इच्छुक देखिएका छैनन्। पछिल्लो कारबाहीपछि पनि उनलाई समाजवादीमा ल्याउन नेताहरु सक्रिय छन्। तर रावल भने पहिल्यैदेखि नयाँ पार्टीको तयारीमा जुटिसकेका छन्।